नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

बबई सिंचाइ आयोजना, वैदी, बर्दिया

हाम्रो बारेमा

बर्दिया जिल्लाको करिव ३६,००० हे. क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ बबई सिंचाइ आयोजना अन्तरगत विभिन्न क्रियाकलापहरु संचालित छन् । यस क्षेत्रमा सिंचाइ प्रणालीको विकासका लागि नेपाल सरकारले अन्तराष्ट्रिय विकास संस्था (IDA) को संलग्नतामा वि.सं. २०२४ साल देखि अध्ययन थालनी गरेको थियो । संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा सम्पन्न भएका यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा बबई नदी भन्दा पूर्वमा करिव १९,००० हे.तथा पश्चिममा २१,००० हे. जमिनलाई सिंचाइ योग्य भनि निर्धारण गरिएको थियो। प्रथम चरणमा पूर्व तर्फको करिव १३,२४० हे.मा सिंचाइ प्रणालीको विकास गर्ने उद्देश्यले वि.सं. २०३५ सालमा सो क्षेत्रको सम्भाव्यता अध्ययन सम्पन्न गरियो । अन्तराष्ट्रिय विकास संस्थाको ऋण सहयोगमा प्रथम चरणमा वि.सं. २०३८ साल देखि २०४० साल सम्म विस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य सम्पन्न भएको र सो डिजाइनमा बबई नदीमा साइफन निर्माण गरि पश्चिमतर्फ सिंचाइ प्रणालीको विकास गर्ने प्रस्ताव गरिएको थियो ।

विश्‍व वैंकको ऋण सहयोग प्राप्त नहुने भएपछि अन्ततः वर्दिया जिल्लाको समग्र विकासमा अपरिहार्य रहेको बबई सिंचाइ आयोजनाको निर्माण कार्य आ.व. ०४५।०४६ देखि नेपाल सरकारको आफ्नै श्रोतबाट प्राथमिकतामा राखी शुरु भएको थियो । यसको अर्को उद्देश्य जलश्रोतमा माथिल्लो तटीय अधिकार (Upper riparian right) स्थापित गर्नु पनि रहेको थियो । यस आयोजनाको प्रथम चरण अन्तरगत राजमार्गमा पुल सहितको बाँध (Weir cum Bridge) निर्माण कार्य रु. ६७.९५ करोडको लागतमा वि.सं. २०४९ सालमा सम्पन्न गरियो । साथै ५.५ कि.मी. लामो मूलनहरको शुरुको खण्ड वि.सं. २०५० सालमा सम्पन्न गरी परम्परागत रुपमा किसानहरु द्वारा संचालित बुढि कुलो, मझरा कुलो, राजकुलो र धधवार कुलोमा गरि करीब ४,००० हे. क्षेत्रमा सिंचाइ पुर्‍याईदै आइएको थियो।

तत् पश्‍चात पनि आयोजनाको प्रथम चरणको बाँकी काम पूरा गर्न कुवेत कोषबाट ऋण सहयोग लिने सम्बन्धि कारवाही गरिएको भएता पनि ऋण सहयोग प्राप्त हुन सकेन ।

यसै परिप्रेक्ष्यमा राष्ट्रिय अभियानको रुपमा आयोजनाको मूलनहरको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखी वि.सं. २०५१ सालमा विशेष कार्य योजना संचालन गरिएको थियो । जस अन्तरगत करिव २८ कि.मी.लामो बबई मूलनहरको बाँकी २२.५ कि.मी. सम्मको निर्माण कार्य वि.सं. २०५८ साल सम्ममा सम्पन्न गरिएको थियो ।

यस आयोजनाको दोश्रो चरणको कार्य शुरु गर्ने उद्देश्यले वि.सं. २०५८ सालमा परामर्शदाता East consult Pvt.Ltd-BDA Nepal Pvt.Ltd. JV द्धारा बबई नदीमा साइफन सहित अन्य संरचनाहरुको विस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य सम्पन्न भएको थियो । बबई नदीमा साइफन, ढोढरी नहर तथा नहर संरचनाहरुको निर्माण कार्य आ.ब. २०६७।०६८ मा शुरु भई आ.ब.२०६९।७० मा करिव रु. ४४ करोड २४ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । साइफन तथा लिंकनहर र अन्य नहर संरचनाहरुको निर्माण सम्पन्न भइ परम्परागत रुपमा कुलाहरुको संरचनावाट ढोढरी तथा जम्ती बर्गदा तर्फ पानी संचालन भई सकेको अवस्थामा २०७१ साल श्रावण २८ देखि ३० सम्मको वाढीले उक्त संरचनाहरु क्षतिग्रस्त वनाएको थियो ।  पूनः साे साइफन २०७३ को असार सम्ममा पुनःनिर्माण भई हाल नहर संचालन भइरहेको छ ।

विगतको सर्भेक्षणवाट बर्दिया जिल्लाको करिव ४०,००० हे. क्षेत्रफल सिंचाइ क्षेत्र भनिएता पनि सन् २०१२ मा भेरी बबई डाइभर्सन बहुउद्देश्यि आयोजनाले गरेको अध्ययनवाट कूल सिंचाइ क्षेत्रफल ३६,००० (पूर्वमा करिव २१,००० हे.तथा पश्चिममा १५,००० हे.) कायम भएको छ ।

हाल १८ अर्व ९६ करोड ३० लाख ४४ हजार को गुरुयोजना २०७८।०१।२१ मा स्विकृत भई आ.व. ०८२।८३ सम्ममा सम्पन्नगर्ने लक्ष्य रहेको छ । आयोजनामा आ. ब. ०७९।८० सम्म रु. १२ अरव २८ करोड ९४ लाख खर्च भैसकेको छ ।

आयोजनाको प्रमुख Components :

  • मूल नहर निर्माण (कि.मि.) -पुर्व तर्फ ३४ तथा पश्चिम तर्फ ४१ कि.मि. र जम्ती वर्गदा तर्फ १६ गरी (जम्मा ९१ कि.मि. )
  • शाखा/उपशाखा/प्रशाखा नहर निर्माण (कि.मि.) - ३१३ कि.मि.
  • नहर संरचना निर्माण
    • पुर्वि मुल नहर – VRB 41, DUP 32, PUP 27,  CUP 14, Aqueduct 2, Escape 3, Spillway ५
    • पश्चिम मुल नहर – VRB 24, DUP 3, PUP  1,  CUP 3, Aqueduct 1 , Escape 3 , Escape 2
  • सिंचित क्षेत्रको विकास र विस्तारः सिंचित क्षेत्र वचावट कार्य ३२ कि.मि.
  • ड्रेनेज, सर्भिस रोड निर्माण लगायतका कार्यहरू